सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको याक-यति होटलको दावी

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १४ : ५९
सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको याक-यति होटलको दावी

काठमाडौं । याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दावी गरेका छन ।

कर्णले होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजस्व वापतको रकमसमेत तिर्न बाँकी नभएको बताउनुभएको हो। कानुनी सल्लाहकार कर्णले याक एण्ड यतिले व्यवसाय गरेबापतको राजस्व तथा क्यासिनो सञ्चालनको रोयल्टी राज्यलाई नियमित रुपमा दि‌दै आएको बताए ।

सरकार आफैले २०७१ सालमा नै क्यासिनोको सञ्चालनको लाइसेन्स खारेज गरिदिएकाले रोयल्टी बापतको रकम तिर्न बाँकी नरहेको उनको तर्क छ । कर्णले २०७१ सालमा लाइसेन्स खारेज गरेपछि होटलले लाइसेन्सको लागि निवेदन नदिएको बताए ।उनले सरकारले गलत रेकर्ड राखेर त्यसैलाई आधार बनाएर पर्र्यटनमन्त्री प्रेम आलेले होटल बन्द गर्ने निर्णय गर्नु गलत भएको बताए।

कर्णले पर्यटन विभाग र मन्त्रालय सजक नभएकाले होटलमा क्यासिनो रोयल्टीको विवाद उत्पन्न भएको बताए । उनले होटलले २०७० साउनमा क्यासिनोसम्बन्धि नयाँ कानून लागू भएसँगै क्यासिनोको लाइसेन्स होटलसँग नभएको बताए ।

त्यति बेला नै पर्यटन मन्त्रालयले होटललाई क्यासिनो खारेज भएको भनेर पत्र पठाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस