पहिलो चरणमा ३७ सिटमध्ये ४ सीटमा मात्रै लोकतान्त्रिक गठबन्धनको अग्रता

शुक्रबार, २२ मंसिर २०७४, १२ : ०९
पहिलो चरणमा ३७ सिटमध्ये ४ सीटमा मात्रै लोकतान्त्रिक गठबन्धनको अग्रता

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहँदा लोकतान्त्रिक गठबन्धनले ४ स्थानमा अग्रता कायम गरिरहेको छ । तर वाम गठबन्धनको तुलनामा कांग्रेस उम्मेद्वारहरू झिनो अन्तरमा मात्र अगाडि छन् । जबकी एमाले र माओवादी केन्द्रका उम्मेद्वारहरू कांग्रेससँगको प्रतिष्पर्धामा ठूलो अन्तरले अगाडि छन् ।

कांग्रेस बाजुरा, रसुवा, ललितपुर-३ र हुम्लामा अगाडि छ । बाजुरामा प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार कविराज पण्डितले ४६२२ मत पाएका छन् । उनलाई एमालेका लालबहादुर थापाले ४३६६ मत ल्याएर पछयाइरहेका छन् । बाजुरामा कांग्रेस उम्मेद्वार २ सय ५६ मतले अगाडि छन्।

हुम्लामा कांग्रेसको प्रतिष्पर्धा स्वतन्त्र उम्मेद्वारसँग छ । स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामालाई ४ सय मतले पछि पार्दै कांग्रेसका मङगलबहादुर शाहीले  प्रतिनिधिसभामा अग्रता लिएका हुन्।

शाहीले ६ हजार ६ सय ६५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार लामाले ६ हजार २ सय ५१ मत ल्याएका छन् । लामा वाम गठबन्धनका बागी उम्मेदवार हुन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका छिमी दोर्ची लामाले २ हजार १ सय १८ मत ल्याएका छन्।

रसुवामा कांग्रेसका मोहन आचार्य वाम गठबन्धनका जनार्दन ढकाल भन्दा अगाडि छन् । त्यहाँ नयाँ शक्तिको कांग्रेसलाई समर्थन छ ।  प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार मोहन आचार्य एमाले उम्मेदवार मोहन ढकालभन्दा १००० बढी मतले अगाडि छन् । आचार्यले २८९७ मत पाएका छन् भने ढकालले १७७१ मत ल्याएका छन् ।

ललितपुर-३ मा प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ मा ३५०० मत गणना हुँदा नेपाली काँग्रेस अगाडि छ । काँग्रेसका मदनबहादुर अमात्यले १६५६ मत पाएका छन् । माओवादी केन्द्रकी पम्फा भुषालले १४३५ मत पाएकी छिन् । मत अन्तर २ सयको हाराहारी मात्र छ।

जबकी मुगुमा एमाले उम्मेद्वार ११ सय मतले अगाडि छन् । बझाङमा एमाले उम्मेद्वार २ हजार मतले अगाडि छन् । त्यस्तै, ताप्लेजुङमा योगेश भट्टराई ४ हजार भन्दा धेरै अन्तरले अगाडि छन् । बैतडीमा एमाले उम्मेद्वार १७ सय मतले अगाडि छन् ।

 

प्रतिक्रिया दिनुहोस