काठमाडौं । सरकारले स्थानिय तहको चुनावको मिति तोकिसकेको छ । आँउदो बैशाख ३० गते तोकिएको स्थानिय चुनावको मुखमै निर्वाचनमा मुख्य भुमिका हुने दुई प्रहरी संगठनमा नयाँ प्रहरी महानिरिक्षक आउने भएका छन् । हालका नेपाल प्रहरी प्रमुख र शसस्त्र प्रहरी प्रमुख ३० वर्षे सेवा अवधि पुरा गर्दै सेवानिवृत्त हुन थालेपछि नयाँ प्रमुख आउने भएका हुन् । आउदो ३० गतेको चुनावमा भने नयां प्रहरी प्रमुखको काँधमा शान्तिपुर्ण चुनाव गराउने दायित्व हुनेछ ।
निर्वाचन सुरक्षामा क्रमशः पहिलो र दोस्रो घेरामा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा अब बन्ने आईजीपीको काँधमा स्थानीय तह मात्र नभई प्रदेश र संघीय निर्वाचन गर्नुपर्ने अवस्थासमेत आउनेछ । घोषित निर्वाचन मितिभन्दा १२ दिन अगाडि अर्थात् १८ वैशाखमा दुवै प्रहरी संगठनका प्रमुख पदमुक्त हुँदै छन् । त्यसैले आईजीपीको जिम्मेवारी वहन गरेको १२ दिनमै स्थानीय निर्वाचन गर्नुपर्ने दायित्व उनीहरूमा आएको हो ।
अहिले नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षत्री छन् । १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनको ३० वर्षे सेवा अवधि आगामी १८ वैशाखमा सकिँदै छ । त्यसैले उनले स्थानीय निर्वाचन गर्न पाउँदैनन् । १८ वैशाखपछि एआईजी विश्वराज पोखरेल र सहदेव थापामध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् । दुवै जनालाई पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर एआईजी बनाएको हो । यी दुईमध्ये जो आईजीपी भए पनि प्रदेश र संघीय निर्वाचन उसैको नेतृत्वमा हुनेछ ।
संघीय निर्वाचन ढिलोमा माघमा हुँदा पनि उनीहरू वहालमै रहनेछन् । चैतमा मात्रै ३० बर्से सेवाअवधिले उनीहरू पदमुक्त हुनेछन् । सशस्त्रको भने प्रहरीको भन्दा केही भिन्न छ । हालका महानिरीक्षक शैलेन्द्र खनाल चारवर्षे पदावधिका कारण २८ चैतमा अवकाशमा जाँदै छन् । त्यसपछि उनकै ब्याचका एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्येबाट एक जना थोरै समयका लागि नेतृत्वमा पुग्नेछन् । जो आईजीपी भए पनि स्थानीय तह निर्वाचन अगावै १८ वैशाखमा ३० वर्षे सेवाअवधिका कारण पदमुक्त हुनेछन् ।
सशस्त्रमा अहिले एआईजीको दरबन्दी दुईओटा मात्रै छ । आईजीपी खनालले अवकाश पाएपछि रिक्त एआईजी पदमा जो बढुवा हुन्छ, उही नै आईजीपी बन्ने पक्का छ । यो स्थितिमा डीआईजी राजु अर्याल र नारायणदत्त पौडेलमध्येबाट एक जना आईजीपी बन्ने निश्चित छ । यी दुईमध्ये वरीयतामा अर्याल अगाडि छन् । १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका उनीहरूपछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ माघ २०७८, ०८ : १५
लेखकबाट थप