आईपिएल : दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराउँदै हैदरावाद शीर्ष स्थानमा

आइतबार, २३ बैशाख २०७५, ०९ : ४३
आईपिएल : दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराउँदै हैदरावाद शीर्ष स्थानमा

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराउदै हैदरावाद आईपीएलको शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा दिल्लीले दिएको १६४ रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । हैदरावादको जितमा एलेक्स हालेसले ४५ रन जोड्दा शिखर धवनले ३३ रन जोडे । त्यस्तै कप्तान केन विलियमसनले अविजित ३२ रन जोड्दा युसुफ पठानले अविजित २७ तथा मनिस पाण्डेले २१ रनको योगदान दिए । दिल्लीका अमित मिश्राले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६३ रन जोडेको थियो । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दिप लामिछाने रहेको टोली दिल्लीका लागि पृथ्वी शले ६५ रनको अर्धशतकीय पारी खेल्दा कप्तान श्रेयस आयरले ४४ रन जोडेका थिए । त्यस्तै विजय शंकरले अविजित २३ तथा रिशाब पन्तले १८ रन जोडे । दिल्लीका टोलीमा रहेपनि सन्दिपले मैदान उत्रने मौका भने पाएका छैनन् । हैदरावादका राशिद खानले २ विकेट लिए ।

यो जितसँगै शीर्ष स्थानमा उक्लिएको हैदरावादले ९ खेलबाट १४ अंक जोडेको छ । हैदरावादले प्ले अफमा पुग्ने सम्भावना समेत बलियो बनाएको छ । पराजित दिल्लीले १० खेलबाट ६ अंक जोडेको छ । दिल्ली पुछारबाट दोस्रो स्थानमा रहेको छ । यो हारसँगै दिल्लीको प्ले अफ संभवाना समेत कमजोर बनेको छ ।

आईपीएलको दोस्रो स्थानमा चेन्नई सुपर किंग्स रहेको छ । चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ ।  यस्तै कोलकाता नाइटराइडर्स १० अंक जोडेर तेस्रो स्थानमा रहदा १० अंक नै जोडेको किंग्स इलाभेन पन्जाब चौथो स्थानमा रहेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस