काठमाडौँ । ललितपुरमा आज बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ । एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । निर्वाचनमा जिल्ला खेलकूद तथा क्लबका गरी ७७ जनाले मतदान गर्नेछन् ।
अध्यक्ष पदमा दुई, उपाध्यक्षका लागि नौ र सदस्यका निम्ति २९ जना निर्वाचनको मैदानमा होमिएका छन् । महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित हुनुभएको छ । साधारण सभाको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले राष्ट्रको गौरव बढाउने खेलकूद क्षेत्रको विकासका लागि सरकारबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सीमित स्रोत र साधनका कारण देशको प्रतिष्ठा बढाउन योगदान गर्ने खेलकूद क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिएको स्वीकार गर्दै उहाँले समाजमा सकारात्मक प्रभाव पार्ने खेलकूद क्षेत्रलाई सरकारले उच्च महत्व दिएको बताउनुभयो । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पारदर्शीता र जवाफदेहिता स्थापित नभएसम्म लोकतन्त्र बलियो हुँदैन भन्दै खेलकूदसँग सम्बन्धित सबै संघ संस्था तथा क्लबका गतिविधि पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । सभामा महासचिव धीरेन्द्र प्रधानले एन्फाका गतिविधिबारे जानकारी दिनुभएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस