‘निधनमा पारिवारिक’ कारण भनेपछि एसएसपी यादवपत्नीको आक्रोश

पत्रपत्रिकाबाट

सोमबार, १९ पुस २०७८, ०८ : २९
‘निधनमा पारिवारिक’ कारण भनेपछि एसएसपी यादवपत्नीको आक्रोश

काठमाडौं । संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको मृत्युलाई लिएर उनकी पत्नी रूपमकुमारी यादवले उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेकी छन् । प्रहरी प्रधान कार्यालयले एसएसपी यादवको मृत्युमा पारिवारिक कारण हुन सक्ने बताइरहेका बेला उनकी पत्नी रूपमकुमारीले यस’बारेमा स्पष्ट पार्न पनि माग गरेकी छन् ।

एसएसपी यादवको गत ९ पुस शुक्रबारका दिन उनी कार्यरत कार्यालयको क्वार्टरमै झुन्डिएको अवस्थामा शव फेला परेको थियो । बिहान अनार खाएर तातोपानी तताउन भनेका उनलाई बिहान ११ बजे झुन्डिएको अवस्थामा भेटिएको थियो । बिहान ११ बजे जाली भएको ढोकाबाट झुन्डिएको अवस्थामा देखेर पनि तत्काल उपचारका लागि नलगिएकोमा पनि उनले आक्रोश पोखेकी छन् ।

‘झुन्डिएको कुरा बाहिरबाट प्रस्ट देखिन्थ्यो, झुन्डिएको अवस्थामा देखेर पनि ढोका फोडेर उपचारका लागि किन लगिएन ? यो स्थितिमा उहाँ (एसएसपी यादव) आफैं झुन्डिएको भनेर हामीले कसरी विश्वास गर्ने ? उहाँले आत्महत्या गरेको कुरामा हामीमा थोरै पनि विश्वास छैन । त्यसैले यो घटनामा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दछौं,’ श्रीमती रूपमकुमारीले भनिन् ।

आफ्नो पति एसएसपी यादवलाई बिहान ११ बजे नै झुन्डिएको अवस्थामा संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रहरीले देखे पनि आफूहरूलाई ३ घण्टापछि मात्रै अस्पष्ट रूपमा जानकारी दिएको उनले भनेकी छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस