काठमाडौँ अदालतले दियो इच्छाराज तामाङलाई थुनामा पठाउने आदेश

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १९ : ४१
काठमाडौँ अदालतले दियो इच्छाराज तामाङलाई थुनामा पठाउने आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । तामाङसँगै केशवलाल श्रेष्ठ​लाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश छ ।

त्यस्तै बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल)लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ ।

संगित श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गरिएको छ । सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।

सिआइबीले सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा जाहेरवाला र प्रतिवादीहरुको वकपत्र सकिएपछि ठीक दुई साताअघिबाट थुनछेक बहस सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस