सुर्खेत । कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने प्रदेशस्तरीय रंगशाला बन्ने भएको छ । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच आइतबार रंगशाला बनाउने सम्झौता भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा निर्माण सम्झौता(पत्रमा हस्ताक्षर गरिएको हो ।
वीरेन्द्रनगरमा हाल रंगशाला रहेकै स्थानमा डेढ अर्ब बढी लगानीमा भौतिक संरचना निर्माण गर्न लागिएको हो । ३० महिनामा काम सक्ने गरी एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताए । उनका अनुसार अबको एक साताभित्रै संरचना निर्माणको शिलान्यास हुनेछ ।
निर्माण कम्पनी एमएसीजिएसएल ज्वइन्टभेन्चर कान्तिपथ काठमाडौंसँग परिषद्ले सम्झौता गरेको छ । रंगशालाका लागि कर्णाली सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा भाग लिएका ६ निर्माण कम्पनीमध्ये एमएसीजिएसएल छानिएको हो ।
रंगशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधक बनाइनेछ भने प्यारापिटमा ग्याल्वनाइज फलामका राखिने भएका छन । एक हजार पाँच सय दर्शक क्षमता भएको बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ । खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको सुविधासम्पन्न रंगशाला निर्माण हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक बनाइने पनि सम्झौतामा उल्लेख छ ।
भीआइपी प्यारापिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिने छन् । अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड पनि निर्माण हुने छन् ।
निर्माण सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न व्यवसायीलाई अनुरोध गरेका छन । उनले सरकार, खेलकुद परिषद् र निर्माण व्यवसायी सबै गम्भीर बनेर आयोजना निर्माणमा सक्रिय बन्नुपर्ने बताए ।
‘पूर्वाधार नभएको कर्णालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता गर्न रंगशाला बनाउन लागिएको छ । यो वा त्यो ढंगबाट बहानाबाजी गरी काममा ढिलाइ नगर्नु होला,’ मुख्यमन्त्री शाहीले भने ।
कर्णाली सरकारले गत २६ असारमा रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रूपमा निर्माण गर्ने निर्णय गरेको थियो । कर्णालीमा खेलकुदको विकासका लागि रंगशालालाई प्रदेश गौरवको आयोजनाको रूपमा लिइएको सरकारले जनाएको छ । कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना गर्ने लक्ष्य सरकारले लिएको छ । उक्त प्रतियोगिता हुनुभन्दा पहिला नै खेलकुदका संरचना बनाउने गरी तयारी थालिएको हो ।
भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । अधिकांश जिल्लामा सामान्य खेल मैदानहरू पनि निर्माण भएका छैनन् । जसले गर्दा खेलाडीहरूलाई दैनिक अभ्यासका साथै जिल्लास्तरीय प्रतियोगिता सञ्चालनमा समेत समस्या हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ कार्तिक २०७८, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोड
तेत्तीस ठूला आयोजना अलपत्र
कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य
जुम्लामा आज सार्वजनिक बिदा
सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त
नागरिकलाई असुविधा हुने गरी राखिएका प्रहरी चेक प्वाइन्ट हटाउन निर्देशन