सेनाका रेफ्री ढकाल पाकिस्तान र फ्रान्सका प्रतियोगितामा निर्णायक

रासस

बुधबार, २० असोज २०७८, ११ : २२
सेनाका रेफ्री ढकाल पाकिस्तान र फ्रान्सका प्रतियोगितामा निर्णायक

काठमाडौं । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सीओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायकमण्डलमा छनोट भएका छन् ।

फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने फ्रेन्च इकोपेन विश्व वरीयता तेक्वान्दो खुला प्रतियोगिताका लागि पनि उनी निर्णायकमा छनोट भएका छन् । एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायकमण्डलमा ढकालको छनोटको जानकारी प्राप्त भएको नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए ।

चीनको वुहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स) मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायकमण्डलमा थिए । चीनकै उसि सहरबाट वि।सं। २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गरेका ढकाल काभ्रे, कुशादेवीका बासिन्दा हुन् । स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।
काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरीयता खेलकुद जी टु प्रतियोगितामा पनि उनले रेफ्री भएर काम गरिसकेका छन् । छोटो समयको तीव्र प्रतिस्पर्धाको खेलमा भिडन्तलाई ठिक ढंगले नियालेर सही निर्णय सुनाउनुपर्ने भएकाले रेफ्रीका लागि तटस्थता, निष्पक्ष, साहसिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक वरीयतानजिक रहेका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुन् । स्पेन, अमेरिका, जापान, पोर्चुगललगायत मुलुकबाट यसबीचमा रेफ्रीका लागि निम्ता आए पनि कोभिड–१९ का कारण प्रतियोगितामा सहभागी हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस