कांग्रेसले भागबन्डामा टुंग्यायो मन्त्रीका अनुहार, मन्त्रालय टुंग्याउन बाँकी

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १२ : ४४
कांग्रेसले भागबन्डामा टुंग्यायो मन्त्रीका अनुहार, मन्त्रालय टुंग्याउन बाँकी

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो।

कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ। अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्।

अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन्। जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन्। कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन्। रिजाललाई महामन्त्री डा.शशांक कोइरालाको पनि समर्थन छ।

कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने भएका छन्। तर, सिटौलाले प्रधानमन्त्री देउवालाई नाम बुझाएका छैनन्। प्रधान यसअघि पनि मन्त्री भइसकेकाले चौधरी नै मन्त्री बन्ने लगभग तय भएको कांग्रेस नेताहरू बताउँछन्। तर, कांग्रेसबाट मन्त्री बन्नेहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन। गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि मात्रै मन्त्रालयको टुंगो लाग्ने भएको छ।

देउवा पक्षमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई राख्ने कि नराख्ने भन्ने अझै निर्णय भइसकेको छैन। यदि श्रेष्ठको बढुवा नभए र राज्यमन्त्री राख्नुपरेमा पुष्पा भुसाललाई अवसर दिइने भएको छ।

राज्यमन्त्री श्रेष्ठले भने आफ्नो कामको मूल्यांकन गर्दै मन्त्रीमा बढुवा हुनुपर्ने चाहना राखेका छन्। देउवा पक्षबाट यसअघि कार्की, खड्का र खाँण मन्त्री बनिसकेका छन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजपछि आजै मन्त्रिपरिषद् विस्तार हुने भए पनि मंगलबार परेको र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएको तथा जसपा अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर गएकाले बिहीबार वा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने कांग्रेसका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस