सभामुख सापकोटाले १४ जना सांसदहरुलाई पदमुक्त गराउने माग सम्बोधन गर्न सक्दैनन् : महामन्त्री कोइराला

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १६ : ५०
सभामुख सापकोटाले १४ जना सांसदहरुलाई पदमुक्त गराउने माग सम्बोधन गर्न सक्दैनन् : महामन्त्री कोइराला

file Photo

काठमाडौँ  । कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले सभामुख अग्नीप्रसाद सापकोटाले एमालेले उठाएको माग पुरा गर्न नसक्ने बताएका छन्।

सोमबार संसद भवनबाट बाहिरिने क्रममा कोइरालाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने दाबी गरेका हुन्।

कोइरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउन नसक्ने ठोकुवा गरे।

प्रतिपक्षी एमालेले आफ्नो सिफारिस अनुसार १४ जनामाथि कारबाही हुनुपर्ने माग राखेर निरन्तर संसदमा नाराबाजी गर्दै आएको छ।

एमालेको मागबारे प्रतिक्रिया जनाउँदै कोइरालाले भने, ‘माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन्। उनीहरुलाई निस्काशन गर्नुस्। त्यो त सभामुखले गर्न सक्नु हुन्न। यसैमा विरोध भइरहेको छ। हाम्रो धारणा के हो भने अब विधेयक आइसकेको छ। २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ । ती पार्टीहरु टुक्रियो । जुन विरोधमा आएको छ । त्यही अनुसार फ्लो गर्नु पर्छ ।’

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस