काठमाडौँ । कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने कोसिस गरिएको बताएका छन् । उनले आफू निर्दोष भएको समेत दाबी गरेका छन् ।
बुधबार तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्धेश्यले मुद्दा चलाएको बताए । ‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरु अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरु झूटा हुन् भन्ने प्रमाणित हुन्छ । यद्यपि ममाथि छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र छ,’ गच्छदारले भने, ‘तर दूषित उद्धेश्यले मेरो खुला किताबसरह रहेको मेरो राजनीतिक जीवन ध्वस्त पार्ने प्रयास भएको छ ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको बताए । ‘सरकारको राजनीतिक दबाब र प्रतिसोधमा परेर संवैधानिक आयोगले जसरी पनि मुद्दा चलाउन सक्छ भन्ने जगजायर भएको छ,’ उनले भने ।बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट गुमनाम भएका गच्छदार गत ३० असारमा विशेष अदालतबाट १० लाख धरौटीमा छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, १४ : १२
लेखकबाट थप