संखुवासभा हत्याकाण्ड : ६ जनाको शव धरान लगियो

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १४ : ३२
संखुवासभा हत्याकाण्ड : ६ जनाको शव धरान लगियो

संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न प्रहरीले जिल्लाका नाका सिल गरेको छ ।धरानबाट गएको एसपीसहितको टोलीले जिल्ला नाका सिल गरेर हत्यामा संलग्न भएकालाई खोजीकार्य तीव्र पारेको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म केही रहस्य नखुलेको प्रहरीले जनाएको छ ।

सो घटनाको अनुसन्धानका लागि डीएसपी लालध्वज सुवेदी घटनास्थलमै रहने भएका छन् ।हत्या गरिएको २४ घन्टापछि मंगलबार बिहानदेखि अनुसन्धान सुरु भएको छ । प्रहरीले ६ वटै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगेको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहालको टोली शव लिएर फर्केको हो ।

सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो । उनका ८५ वर्षीय बाबु बौद्धमान कार्की भने सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस