एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्यो देशव्यापी संघर्षको घोषणा

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १३ : १९
एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्यो देशव्यापी संघर्षको घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको छ । नेकपाको केन्द्रीय कार्यालयले मङ्गलबार बिहान दिएको जानकारीअनुसार भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा आयोजना गरिनेछ ।

सरकारले यसै साता संसद्‌बाट एमसीसी पारित गर्ने षड्यन्त्र गर्दै राष्ट्रियतामाथि घात र वाक्स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि देशभक्त र क्रान्तिकारी शक्ति आन्दोलित बनेका छन् ।

यसै सन्दर्भमा नेकपाको अन्तर्राष्ट्रिय विभागले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको छ । विभिन्न पार्टीका नेता र विश्लेषकहरूले राष्ट्रघाती एमसीसीविरुद्ध मन्तव्य दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

एमसीसीविरुद्ध नेकपा, पार्टीको अन्तर्राष्ट्रिय विभाग र केन्द्रीय जनपरिषद्ले विज्ञप्तिमार्फत आन्दोलन र कार्यक्रमहरू सार्वजनिक गरिसकेका छन् । नेकपाले लामो समयदेखि एमसीसीविरुद्ध देशव्यापी सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ । नेकपाका जनवर्गीय सङ्गठन र मोर्चाहरू लामो समयदेखि एमसीसीविरुद्ध सडकमा आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस