संखुवासभा हत्या प्रकरण : २४ घण्टा बितिसक्दा पनि अझै रहस्यमय

बिहानैबाट अनुसन्धान सुरु

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, ११ : ०१
संखुवासभा हत्या प्रकरण : २४ घण्टा बितिसक्दा पनि अझै रहस्यमय

संखुवासभा । संखुवासभाको मादी घटना अझै रहस्मय रहेको छ । मादी नगरपालिका– १, खोलागाउँका एकै परिवारका ६  जनाको वीभत्स हत्या घटना अझै रहस्यमय नै रहेको छ । सोमबार बिहान ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो । तर,  घटना सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि अझै रहस्यम नै देखिएको हो । 

तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसी लालध्वज सुवेदीले बताए ।  उनका अनुसार अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा रहेको छ । अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको थियो ।  

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित  एकै परिवारका ६ जनाको हत्या भएको थियो । सामूहिक हत्या भएका मादी– १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको सुवेदीले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ ।  घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए ।  

घटना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए । हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको शव रोडको भित्तामा मृत फेला परेको थियो । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ । ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी  रञ्जना कार्कीको शव खोल्सामा फेला परेको प्रहरीले जनाएको छ ।  

त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव केही खरबारीमा फेला परेको थियो । तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस