मन्त्री पुनद्वारा चार गरीब विद्यार्थीलाई सहयोग

विहीबार, ०६ बैशाख २०७५, ०९ : ४९
मन्त्री पुनद्वारा चार गरीब विद्यार्थीलाई सहयोग

रोल्पा । संघीय सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले रोल्पाका चार गरीब विद्यार्थीलाई शैक्षिक सहयोग हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन गर्नुभएको छ । राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमूना माविको कक्षा १ मा कविता शाही, कक्षा २ मा बबिता शाही, कक्षा ३ मा प्रशंसा सेन र कक्षा १० मा छवीन्द्र विष्टलाई भर्ना गरेसँगै शैक्षिक सहयोगस्वरुप जनही रु १० हजारसमेत बुधबार हस्तान्तरण गर्नुभएको हो ।
भर्ना गरिएका सबै विद्यार्थीको आर्थिक अवस्था कमजोर हुनुका साथै घरमा बाबुसमेत नभएकाले मन्त्री पुनले शैक्षिक सहयोग गर्नुभएको बालकल्याण नमूना मावि, लिवाङका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताउनुभयो । उनीहरुलाई सो विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्थासमेत गरिन लागेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो । मन्त्री पुनसँगै पूर्व सभामुख ओनसरी घर्तीमगरसमेत भर्ना अभियान उद्घाटन कार्यक्रममा उपस्थित हुनुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड बालकल्याणलाई
यसैबीच, रोल्पामा हालै सम्पन्न दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बालकल्याण नमूना मावि, लिवाङले ३३ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको छ ।

कूल ४४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा सो विद्यालयले ३३ स्वर्ण पदक जितेर प्रथम भएको हो । प्रतियोगितामा जनज्योति मावि, गजुल आठ स्वर्णसहित दोस्रो भएको थियो । यसैगरी, भगवती मावि, दहवनले एक स्वर्णसहित तृतीय स्थान हासिल गरेको थियो भने ज्योतीप्रकाश मावि, हरिगाउँले समेत एक स्वर्ण प्राप्त गरेको थियो । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजय हासिल गरेसँगै वालकल्याण नमूना माविको विजय यात्राले लगातार पाँचौँ वर्ष पनि निरन्तरता पाएको विद्यालयका प्राचार्य मधुुसुदन पोख्रेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा एथलेटिक्समा २६ स्वर्ण, करातेमा आठ स्वर्ण, ते क्वानदोमा छ स्वर्ण, भलिबल र कपर्दीमा दुई÷दुई स्वर्ण गरी ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिएको जिल्ला खेलकुद विकास समिति रोल्पाका एथलेटिक्स प्रशिक्षक हरिश वलीले जानकारी दिनुभयो । जिल्लामा रहेका ७४ सामुदायिक माध्यमिक विद्यालयमध्ये १६ विद्यालयले मात्र भाग लिएको सो प्रतियोगिता अरनिको मावि, नुवागाउँले आयोजना गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस