सुदूरपश्चिममा एमाले र समाजवादीको तानातानमा परे सांसद, भीम रावल कमजोर बन्दै

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, ०८ : ५८
सुदूरपश्चिममा एमाले र समाजवादीको तानातानमा परे सांसद, भीम रावल कमजोर बन्दै

धनगढी । सुदूरपश्चिमका प्रदेश सांसदहरु एमाले र समाजवादीको तानातानमा परेका छन्। सबैभन्दा ठूलो शक्ति नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेपछि कुन सांसद कतातिर गए भन्ने चर्चा अहिले सुदूरपश्चिममा बढी छ । सुदूरका सांसदहरु एमालेमा बस्ने या नेकपा (एस)मा जानेमा तानातानमा परेका छन् । पार्टी विभाजनको असर माथिदेखि तलसम्मकै राजनीति तरंगित भएको छ। 

नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी नेता कार्यकर्ता तान्न लागिरहेको छ। अर्कातिर एमाले पनि पुरानो शक्ति जोगाइरहने अभियानमा रहेका छन्। भदौ १५ गते सुदूरपश्चिम प्रदेश सभामा एमालेका १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरिसकेका छन्। त्यही दिन एमालेका १३ सांसदले सांसदले एकीकृत समाजवादीमा सनाखत गर्ने तयारी थियो। तर, अन्त्यमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज र सांसद तारा लामा तामाङ सनाखत गर्न आएनन्।

त्यसपछि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनुकुमारी चौधरी, सांसदहरु मनाकुमारी साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले मात्रै समाजवादीमा सनाखत गरे।

आर्थिक मामिला राज्यमन्त्री गहतराज, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र सांसद तारा लामा तामाङको कागजपत्र नपुगेपछि सनाखतमा नआएको बताइएको थियो। उनीहरुले कागजपत्र तयार गरेर भोलिपल्ट सनाखत गर्ने एकीकृत समाजवादीले दाबी गरेको थियो। तर, उनीहरुले अहिलेसम्म उनीहरुले सनाखत गरेका छैनन्। यसैबीच राज्यमन्त्री गहतराजले विभाजनतर्फ नजाने अडान लिएकी छन्।

उनलाई आफूतिर तान्न एकीकृत समाजवादीका नेताहरु सक्रिय भए पनि सफल हुन सकेनन्। राज्य मन्त्री गहतराजले पनि एमालेमै बस्ने उद्घोष गरेकी छन्। नेपाल नेतृत्वको समाजवादी सुदूरपश्चिममा ठूलो दल बन्ने दाउमा छ। त्यसकै लागि एकीकृत समाजवादीका नेताहरु आफ्नो पक्षमा सांसद तान्न सक्रिय छन्। 

सुदूरपश्चिम प्रदेश सभामा समाजवादी सबैभन्दा ठूलो दल बन्ने केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले दाबी गरेकी छन्। एकीकृत समाजवादीले दाबी गरे अनुसार त्यो पार्टीमा जाने सांसद संख्या भने भदौ १५ पछि बढ्न सकेको छैन। भदौ १५ मा सनाखत गरेका १० जना मात्रै थिए। यद्यपि निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा भदौ २२ सम्म भएकाले सांसद यताउता हुन सक्ने नेताहरु बताउँछन्। 

कुनै बेला एमाले उपाध्यक्ष डा भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा बलियो पकड थियो। तर एमाले विभाजन हुँदा रावलको पकड कमजोर हुँदै गएको छ। एमालेको आन्तरिक विवादका क्रममा माधव नेपाल समूहमा १७ सांसद थिए भने ओलीतिर ७ जना मात्रै थिए। विभाजनअघि नेपाल समूहका रावलकै इसारामा सुदूरपश्चिमको राजनीति घुम्थ्यो। 

एमालेमा आन्तरिक विवाद रहेका बेला ओली समूहले माओवादी केन्द्रको नेतृत्वको सरकार ढाल्न खोजेको थियो। तर नेपाल समूहले त्यो सफल हुन दिएन। त्यसका लागि भीम रावल नै सक्रिय भए। यद्यपि एमाले विभाजनका क्रममा माधव नेपालको साथ छोडेपछि रावलले शक्ति गुमाउँदै गएका छन्। एकीकृत समाजवादी पार्टी संसदमा ठूलो दल बन्ने दाउमा छ। यद्यपि रावलले समाजवादीलाई ठूलो दल बन्नबाट रोक्ने रणनीति लिएका छन्।सभामुखसहित एमालेका २५ सांसद थिए। तीमध्ये १७ जना तत्कालीन माधव समूहमा थिए भने ७ जना ओली समूहमा।

माधव समूहका १७ सांसदमध्ये १० जनाले एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन्। यस्तै ५ सांसद एमालेमै रहने भएका छन्। ओली समूहकासहित एमालेमा अहिले १२ सांसद पुगेका छन्। एकीकृत समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्छ। प्रदेश सभामा एमाले र एकीकृत समाजवादीमा कुन ठूलो पार्टी बन्ने भनेर निर्क्यौल हुन भदौ २२ गतेसम्म कुर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस