साझापुरका अरुण र पत्रुसलाई प्रचण्डले पढाइदिने

बुधबार, ०५ बैशाख २०७५, १७ : २९
साझापुरका अरुण र पत्रुसलाई प्रचण्डले पढाइदिने

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको साझापुरका दुई जना मुसहर बालकलाई पढाइदिनु हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २८ मा रहेको साझापुर उच्च माध्यमिक विद्यालयमा बुधबार आयोजित अभिभावकत्व ग्रहण कार्यक्रममा प्रचण्डले ९ बर्षका अरुण मुसहर र ४ बर्षका पत्रुस मुसहरको अभिभावकत्व ग्रहण गर्नु भएको हो । 


उहाँले अभिभावकत्व ग्रहणसँगै दुई विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री पनि हस्तान्तरण गर्नु भएको थियो । ९ बर्षका अरुण मुसहरलाई कक्षा १ र पत्रुस मुसहरलाई शिशु कक्षामा भर्ना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले स्कुल जाने अवसरबाट बञ्चित भएका वा वातावरण नबनेका हजारौँ हजार बालबालिकालाई भर्ना गर्नु पर्ने बताउनु भयो । उहाँले विद्यालय भर्ना गर्ने अभियानको प्रतिनिधिमूलक कार्यक्रमस्वरुप अरुण र पत्रुसको अभिभावकत्व ग्रहण गर्ने कार्य गरिएको बताउनु भयो । 


“अरुण र पत्रुसको कुरामात्र होइन्” उहाँले भन्नुभयो, “उनीहरु लगायत देशैभर यो महाअभियानमा विद्यालयका शिक्षक, अभिभावक जिम्मेवार बन्नुपर्छ । सम्पूर्ण बालबालिकालाई स्कुलसम्म पु¥याउने काममा जागरण ल्याउन सबैले आफ्नो ठाँउबाट संकल्प गर्नु पर्दछ ।”
 

को हुन् अरुण र पत्रुस

अरुण र पत्रुस दुबै मुसहर समुदायका बालक हुन् । नाताले यी दुई काका भतिजा पर्छन् । अरुण गत बर्ष केही महिना विद्यालय आएपनि पछि विद्यालय आउन छाडे । उनको दिदी अरुणाले अहिले पनि स्कुल पढ्न पाएकी छैनन् । उनको बुबा आमा दैनिक ज्याला मजदुरी गर्ने गर्दछन् । 
अरुण र पत्रुसका अभिभावकको कथा र व्यथा पनि एउटै छ । आफ्ना सन्तानलाई विद्यालय पठाउन आवश्यक शैक्षिक सामग्री जुटाउन सक्ने आवस्थामा छैनन् उनीहरु । अहिले पनि ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका उनीहरुको जम्मा दुई कठ्ठा जग्गा छ । त्यसमा पनि खेती गर्ने गरेका छैनन् उनीहरुले ।
अरुणका बुबा राजकुमार मुसहर भन्छन्, “सधैं हातमुख जोड्न ज्याला मजदुरी गर्छौं । छोरालाई निःशुल्क पढाई दिने कुराले निकै खुशी छु । अन्य दुई सन्तानलाई पनि राज्यले पढाई दिए हुन्थ्यो ।”


 

प्रतिक्रिया दिनुहोस