दार्चुला घटना : भारतीय सुरक्षाकर्मीको संलग्नता भएको पुष्टि

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, २० : २८
दार्चुला घटना : भारतीय सुरक्षाकर्मीको संलग्नता भएको पुष्टि

काठमाडौँ । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ स्थित खाङदाङ माल बस्ने जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नता पुष्टि भएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सो घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरेको हो । 

मंगलबार साँझ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादिक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’

प्रतिक्रिया दिनुहोस