काठमाडौं । बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ ।
सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको डाइभर्सन बिहीबार राति बगाउँदा पूर्णरूपमा अवरुद्ध भएको सो सडकखण्ड आजदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
तेइस स्मृति पुलको डाइभर्सन बगाएको ठाउँमा ह्युमपाइप, माटो, गिट्टी राखेर पुनः डाइभर्सन निर्माण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
शुक्रबार रातिदेखि नै ह्युमपाइप राखेर सडक सञ्चालनको तयारी गरिएको भए पनि आज मात्रै सवारी साधन सञ्चालनमा ल्याउन सकिएको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।
सडकमा सवारी साधनको चाप बढी भएको र पानी पर्नसमेत नरोकिएकाले एकतर्फी नै भए पनि सवारी साधन सञ्चालन गरिएको खनालले बताए। यसअघि असारको १६ गतेसमेत सोही स्थानको डाइभर्सन बगाउँदा २८ घण्टासम्म सवारी साधन पूर्णरूपमा अवरुद्ध भएको थियो । विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडकको थुम्सी क्षेत्रमा पक्की पुल निर्माण गर्नका लागि सडकमा डाइभर्सन निर्माण गरेर सवारी साधन सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ भदौ २०७८, २२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाँचिएको पुलमा दुईतर्फी डाइभर्सन, यात्रा सहज