कारबाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्यता नदेऊ : एमाले

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १५ : ४२
कारबाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्यता नदेऊ : एमाले

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्य नहुने जिकिर गरेको छ । 

एमालेले पार्टीबाट निस्कासन गरिसकेका १४ जनाको हस्ताक्षरलाई मान्यता नदिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोली आज आयोगमा पुगेर दल विभाजनका लागि दिएका निवेदन र हस्ताक्षर गर्नेहरूको विवरण लिएको हो । एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।

आयोगबाट फर्केपछि एमाले नेता खरेलले सभामुखले एमालेको कारवाहीलाई अघि बढाएनन् भन्दैमा निर्वाचन आयोगले कानूनविपरीत जान नमिल्ने बताए । एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।
पार्टीले निष्कासन गरिसकेका व्यक्तिले एमाले केन्द्रीय सदस्यको हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेकोमा त्यो मान्य हुन नसक्ने खरेलले बताए । १४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन् ।

दल दर्ताको निवेदन दिने बेला हस्ताक्षर गरेका बाहेक अरु नयाँ थपेर सनाखत नगर्न समेत एमालेले आयोगको ध्यानाकर्षण गराएको छ । आयोगले माधव नेपाल पक्षलाई सनाखतका लागि बुधबार ११ देखि २ बजेको समय तोकेको छ । आयोगले सनाखतका लागि सशरीर उपस्थित हुनुपर्ने बताएको छ ।