कांग्रेस नेता लेखकले भने– क्रियाशील सदस्यता विवाद टुङ्गो लाग्यो, अब महाधिवेसन सर्दैन

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, ०८ : ३७
कांग्रेस नेता लेखकले भने– क्रियाशील सदस्यता विवाद टुङ्गो लाग्यो, अब महाधिवेसन सर्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको र अब फेरि महाधिवेसन नसर्ने दावी गरेका छन् । 

क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले भने, ‘आज आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउँदैछौँ । सबै विवादित विषयको समाधान गरेका छौँ । क्रियाशील सस्दयता विवाद समाधानमा सजिलै सफल हुन सकेका छौँ ।’ 

कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।

समितिले आज आइतबार अन्तिम रुप दिएर प्रतिवेदन बझाउने तयारी गरिरहेको छ ।  क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको थियो । 

मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ । क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको महाधिवेशन हुन नसक्ने भएपछि मंसिरमा नयाँ मिति तोकेको हो । नेता लेखकले भने, ‘जुन विषयले महाधिवेसन अड्काएको थियो, अब त्यो फुकुवा भयो, अब महाधिवेसनलाई अड्काउने ठाउँ छैन ।’
 

प्रतिक्रिया दिनुहोस