कांग्रेसको क्रियाशील सदस्यता सूचीका त्रुटी ७ गतेभित्र सच्याउन पौडेल पक्षको माग

सफल खबर संवाददाता

शनिबार, ०५ भदौ २०७८, १९ : २८
कांग्रेसको क्रियाशील सदस्यता सूचीका त्रुटी ७ गतेभित्र सच्याउन पौडेल पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सूचीका त्रुटी यही भदौ ७ गतेभित्र सच्याउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

विधिसम्मत ढंगले त्रुटी सच्याएर सार्वजनिक नगरे भदौ आठ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनशन बस्ने चेतावनी दिएका छन् । शनिबार पार्टी सभापति शेरबहादुर देउवालाई इमेलमार्फत् जिल्ला सभापतिहरुले तीन बुँदे माग पठाएका छन् ।

अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानविन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस