महिलामाथि दुर्व्यहार गरेको आरोपमा उद्योगका सिईओ पक्राउ

पत्रपत्रिकाबाट

बुधबार, ०२ भदौ २०७८, ०८ : ०६
महिलामाथि दुर्व्यहार गरेको आरोपमा उद्योगका सिईओ पक्राउ

विराटनगर । महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ मा रहेको एउटा उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। 

ट्राइकोट इण्डस्ट्रिज प्रा. लिका सीईओ सञ्जय चाण्डोकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार उद्योगमा कार्यरत महिलालाई दुर्व्यवहार गरेको आरोप लागेपछि भारतीय नागरिक चाण्डोकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको हो। उनी ४ वर्षदेखि उद्योगमा कार्यरत थिए। 

उद्योगको एचआर (मानव संशाधन) फाँटमा कार्यरत २४ वर्षीया महिला कर्मचारीमाथि गत जेठमा चाण्डोकले यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनलाइनबाटै छनोटमा परेपछि महिलाले जेठ ९ गतेदेखि उद्योगमा काम गर्न थालेकी थिइन्। चाण्डोकले व्यक्तिगत कुराहरु सोधीखोजी गर्ने, रातिराति फोन गरेर दुःख दिने, काममा चित्त नबुझेको भन्दै दबाबमा राख्ने र विभिन्न गतिविधि देखाएर आफ्नो काबुमा पार्न खोज्ने गरेको आरोप महिलाको छ। 

गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन्। महिलामाथि दुर्व्यवहारको घटना बाहिरिएपछि करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरुले मंगलबार दिनभर उद्योग घेराउ गर्दै नारबाजी र प्रदर्शन गरे। महिलामाथि दुर्व्यवहार गर्ने र पुरुष कामदारलाई कामबाट निकाल्ने धम्की बारम्बार सीईओ चाण्डोकले दिइरहेको गुनासो उनीहरुको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस