सुरेन्द्र पाण्डे र भीम आचार्य एकाएक किन पुगे दिल्ली ?

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, १० : १७
सुरेन्द्र पाण्डे र भीम आचार्य एकाएक किन पुगे दिल्ली ?

काठमाडौं । नेकपा एमालेका दुई नेता एकाएक दिल्ली पुगेका छन् । शनिवार विहान ११ वजेको एयर इन्डियाको जाहाजमा यसरी दिल्ली उड्ने नेताहरु हुन्– सुरेन्द्र पाण्डे र भीम आचार्य ।

दुवै माधव नेपाल समुहका नेता हुन् । तर नेपाल समुहमा रहे पनि पछिल्ला दिनमा दुवै नेता केपी ओलीसँगै माधव नेपाललाई मिलाउन निक्कै कस्सिएर जुटेका छन् । नेपाल समुहका दोस्रो पुस्ताका अर्थात स्थायी कमिटिका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भटटराई, भीम आचार्यलगायतका नेताहरु जसरी पनि एमाले बीचको एकता गराउने भन्दै लागिरहेका छन् ।

पछिल्लो समय नेपाललाई केन्द्रीय कमिटिमा रहेका र तेस्रो पुस्ताका नेताहरुले भने दरिलो ढाढस दिइरहेका छन् । तर दोस्रो तहका यी नेताहरु भने ओलीसँग ब्यक्तिगत डिल गर्ने र त्यही डिलका आधारमा माधव नेपाललाई समेत धोका दिएर ओलीसँग मिल्नलाई हत्तारिएका छन् ।

त्यही क्रममा उनीहरुले माधव नेपाललाई पनि निक्कै दबाब दिएर एकताको प्रयास थाल्न आग्रह गरिरहेका छन् । तर नेपालले उनीहरुले भने जस्तै सर्लक्कै ओलीसँग मिल्न जाने पक्षमा छैनन । पार्टीभित्र सम्मानजनक एकता नभएसम्म ओलीसँग मिल्ने स्थिति नआउने र ओलीको टाङमुनि छिरेर आफूचाहिँ नजाने अडानमा माधव नेपाल रहेपछि ओलीसँग मिल्न हत्तारिएका नेताहरुलाई अप्ठ्यारो आइलागेको छ ।

एकातिर माधव नेपाललाई सहज एकतामा लैजान अप्ठ्यारो पर्दै जानु र अर्कोतिर ओलीले धमाधम भेला सम्मेलन गर्ने, सदस्यता वितरण गर्ने, विद्यान महाधिवेशन बोलाउने र त्यसका लागि अध्यक्षलाई झन शीक्तशाली बनाउने गरी विद्यानको मस्यौदासमेत डाफ्ट गदै लैजानुले अब एमालेभित्र पनि सहज मिलेर जाँदा ओलीसँगै शरण पर्नुबाहेक थप विकल्प नदेखिएपछि दोस्रो तहका नेताहरु यता न उता भइरहेका छन् ।

यही बेला नेपाल समुहका दोस्रो तहका नेताहरु दिल्ली उडेका हुन् । महिना दिन भन्दा लामो समय देखि दिल्लीमा उपचारमा रहेका वरिष्ठ नेता झलनाथ खनाललाई फकाउन सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली पुगेका हुन् । खनालको स्वास्थ्य अवस्थाको जानकारी लिन र स्वास्थ्यलाभको कामनाका लागि पाण्डे र आचार्य दिल्ली गएको भनिएपनि उनीहरुको भित्री मक्सद भने खनाललाई बिरामी अवस्थामा दिल्लीमै पुगेर दबाब बढाउने र उताबाट यता नेपाललाई दबाब बढाउन सकिन्छ कि भन्न्ने रहेको स्रोत बताउँछ ।

यसका लागि पाण्डे र आचार्यले माधव नेपाललाई आफुहरु झलनाथ खनालको स्वास्थ्य अवस्थाको जानकारी लिन दिल्ली जान लागेको जानकारी समान्य रुपमा गराएका छन् । तर भित्री रुपमा भने दिल्ली जानुको मक्सदका बारेमा यी दुई नेताहरुले भीम रावल, योगेश भटटराई, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरुसँग पनि परामर्शकै आधारमा दिल्ली गएको बुझिएको छ ।

खनाललाई उपचारका लागि दिल्ली लैजानु अगाडी पार्टी एकताका लागि आग्रह सहितको वक्तब्यवाजी समेत आचार्य र पाण्डेलगायतका नेताहरुले नै दिन लगाएका थिए । आफैँले बनाएको डाफ्टमा खनाललाई सहीछाप गराएर उनीहरुले इमोशनल ब्याल्कमेलिङ गर्ने प्रयास गरेका थिए ।

तर पछि खनालले दिल्लीबाटै देउवालाई विश्वासको मत दिन आलटाल नगरी अगाडि बढ्न अपिलसहितको वक्तव्य आएपछि खण्डन गरिएको थियो ।ओलीलाई हेर्ने र ब्झने मामिलामा माधव नेपालभन्दा पनि झलनाथ खनाल प्रष्ट छन् । त्यही भएर पनि पाण्डे र आचार्यले अनेक जोडबल गरे पनि सहज रुपमा खनालले यी दुई नेताको कुरा सुनेकै भरमा पार्टी एकताका लागि माधव नेपालमाथि आग्रह गर्छन भन्ने अनुमान लगाउन सकिने अवस्था छैन ।

खनाल भदौं १५ आसपासमा अस्पतालबाट डिस्चार्ज भएर फर्किने सोचमा छन् । हिजै दिल्ली पुगेका  पाण्डे र आचार्यले खनालसँग भेटवार्ता हिजै गरिसकेका छन् । यी दुवै नेता खनालसँग निकटता राख्ने नेतामा पनि पर्छन् ।
 

प्रतिक्रिया दिनुहोस