निर्वाचन आयोगको ग्रिन सिग्नल ; सर्ने भयो काँग्रेस महाधिवेशन

पत्रपत्रिकाबाट

मंगलबार, २६ साउन २०७८, ०७ : ४३
निर्वाचन आयोगको ग्रिन सिग्नल ; सर्ने भयो काँग्रेस महाधिवेशन

काठमाडौं । कांग्रेस पार्टी विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । जसअनुसार फागुन २०७६ मा नै कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो ।

तर, विधानले दिएको एक वर्षको सुविधा प्रयोग गर्दै ७–१० फागुन २०७७ सम्म महाधिवेशनको समय तोकिएको थियो । सो मितिसमेत कोरोना महामारीसँगै पार्टीको सांगठनिक समायोजनको काम बाँकी रहँदा टरेको थियो ।

कांग्रेसले त्यसपछि संविधानको सहारा लिँदै महाधिवेशन कार्यतालिका संशोधन गरेर ६ महिना थप गरेको थियो । संविधानमा विशेष परिस्थितिमा ६ महिना थपको सुविधा दलहरूलाई दिएको छ । कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन र पार्टीको वैधानिकताबारे कांग्रेसले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरिसकेको छ ।

केही दिनअघि सरकारका कानुनमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता रामहरि खतिवडासहितले आयोग पदाधिकारीसँग कांग्रेसलाई समयमा महाधिवेशन नहुँदा पर्ने असहज अवस्थाबारे छलफल गरेका थिए ।

सो छलफलबाट पाएको सुझावअनुसार पनि कांग्रेसको संस्थापन पक्ष अब महाधिवेशनको पूर्वनिर्धारित मिति तन्काउने पक्षमा उभिएको छ । कोरोनाको कालको यो अवधिलाई शून्य अवधि मान्न सकिने भन्दै कांग्रेसलाई निर्वाचन आयोगले ग्रिन सिग्नल दिएको हो ।

स्रोतका अनुसार कांग्रेसले निर्वाचन आयोगबाट भदौभित्र महाधिवेशनको प्रक्रिया सुरु गर्न ग्रिन सिग्नल पाइसकेको छ । यसरी अघि बढ्न एउटा पत्र दलका तर्फबाट आयोगमा पठाउन कांग्रेसलाई आयोगले सुझाएको छ । त्यसपछि आयोग सहजीकरण गरिदिने विषयमा सकारात्मक छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस