एउटा भाइरल तस्बिर : मेयरले कार्यकक्षमा कार्यालय सहयोगीलाई खुट्टा मसाज गर्न लगाए

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १७ : २९
एउटा भाइरल तस्बिर : मेयरले कार्यकक्षमा कार्यालय सहयोगीलाई खुट्टा मसाज गर्न लगाए

जनकपुरधाम । मेयरले कार्यकक्षमा कार्यालय सहयोगीलाई मसाज गर्न लगाएको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो कार्यकक्षमै कार्यालय सहयोगीलाई खुट्टाको मसाज गर्न लगाएका हुन् । कार्यालय सहयोगी करन दासले खुट्टाको मसाज गरिरहेको तस्बिर झ्यालबाट कसैले खिचेर सामाजिक सञ्जालमा राखिएको हो, जुन तस्बिर यतिबेला भाइरल भइरहेको छ ।

कोठाको ढोका थुनेर मेयर दासले कार्यालय सहायकसँग मालिस गराइरहेको देखिन्छ ।  दास नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका र पछिल्लो समय उनी नेकपा एमालेमा प्रवेश गरेका हुन् । मेयर दासले आफूलाई सञ्चो नहुँदा आफ्नै भाइ नाता पर्ने कार्यालय सहयोगीलाई मालिस गर्न लगाएको स्वीकारेका छन् ।  

‘सञ्चो नहुँदा नहुँदै सेवाग्राहीलाई मर्का पर्ला भनेर म एक घन्टाको लागि कार्यालय गएको थिएँ । तर जिउ दुखेर काम गर्न नसक्ने भएपछि मेरो भाइलाई बोलाएर मालिस गर्न लगाएको हुँ,’ उनले भने । उनले नै भाइलाई कार्यालय सहयोगीको रुपमा जागिर दिएका थिए । 

प्रतिक्रिया दिनुहोस