काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणासहितका नेताहरुले बाढीबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गरेका हुन् ।
बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिए । राप्रपाले बाढीबाट ज्यान गुमाएका र वेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ । अध्यक्ष राणाले भने, ‘पुल, बाटोघाटोलगायतका स्थानीय संरचना सम्पूर्ण निर्माण हुनुपर्यो । विस्थापित परिवारलाई राखिदिने उचित ठाउँको व्यवस्था हुनुपर्यो । क्षति भएका मानिसहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्यो । त्यो मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।’
राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरिपरिको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ । अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ साउन २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले फागुन २५ गते काठमाडौँमा भण्डाफोर सभा गर्ने
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु