काठमाडौं । कोभिड–१९ संक्रमण सुरु भएसँगै निर्जीवन बिमा कम्पनीहरूले भटाभट कोरोना बिमा पोलिसी ल्याए। सुरुआती चरणमा बिमा गर्न प्रतिस्पर्धाजस्तै देखियोे । हालसम्म बिमालेख तथा बिमित संख्या १८ लाखभन्दा बढी पुगेको छ।
तर, यसबीच कोरोना महामारी नपत्याउने गरी फैलियो। त्यसपछि बिमाबापत करिब १ लाख ३७ हजारको दाबी पर्यो। बिमितहरूले कम्पनीमा धाउन थाले। सुरुमा दाबी गर्नेले भुक्तानी पाए। अधिकांशले सम्झौता गरेको ५० हजारदेखि १ लाख रुपैयाँसम्म लिन पटक–पटक धाएका छन्। तर, भुक्तानी पाउने ३५ हजार जना मात्रै छन्। बाँकी १ लाख २० हजारभन्दा बढीले अझै पाएका छैनन्।
भुक्तानी दाबी गर्नेहरूको संख्या अझै बढ्दै गएको नेपाल बिमक संघका महासचिव चंकी क्षेत्री बताउँछन्। क्षेत्रीका अनुसार दाबीबापत साढे ३ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ। यसभन्दा माथिको भुक्तानी सरकारको दायित्व भएको तर निकासा नगरेको उनको गुनासो छ।
उनका अनुसार यसो हुँदा कम्पनीमा बिमितबाट धम्की आउन थाल्यो। त्यसपछि संघले बिमा समितिमा छिट्टै दाबी भुक्तानीको रकम निकासाको अनुरोध गर्दै दाबी भुक्तानी स्थगनको पत्र बुझाएकोे उनको भनाइ छ। ‘कोरोना बिमा सरकारले ल्याएको कार्यक्रम हो। सुरुमा बिमा समितिले सामाजिक उत्तरदायित्वका रूपमा यो बिमा पोलिसी ल्याउन अनुरोध गरेकाले २०७७ वैशाख ७ देखि थालेका हौं।
तर, बिमा गर्ने र दाबी गर्ने बढेपछि जेठ १७ गते रोक्ने निर्णय भयो। गत आवको बजेटले पनि यसलाई सम्बोधन गर्यो’, उनी भन्छन्, ‘सरकारले पनि दायित्व लिने भनेर जेठ २३ मा फेरि यसलाई नियमित गर्न अर्थ मन्त्रालयले अनुरोध गर्यो। यसपछि कोरोना बिमा मापदण्ड बनाएर दाबी भुक्तानी बाँडफाँट गर्यो। तर, कार्यान्वयन भएन।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १९ साउन २०७८, ०७ : ५४
लेखकबाट थप