संसदीय दलको विधानमाथि छलफल गर्न जसपा यादव पक्षको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १२ : ३६
संसदीय दलको विधानमाथि छलफल गर्न जसपा यादव पक्षको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक मंगलबार बोलाइएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको बैठकमा दलको विधान, संसदीय दलको नेता चयन, सरकार गठन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

यादव पक्षले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि मन्त्री चयन गर्ने प्रकृया सुरु गरेको छ । त्यसअघि संसदीय दलको विधान तयार गरी नेता चयन गर्ने कार्य सुरु गरेको हो । जसपाका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य महेन्द्र राय यादवले बैठकमा दलको विधानको बारेमा छलफल गरेर त्यसलाई पारित गरेपछि मात्र संसदीय दलको नेता चयनको प्रकृया जाने बताए ।

उता, जसपा महन्थ ठाकुरको पक्षले यसअघि नै संसदीय दलको नेता राजेन्द्र महतोलाई बनाएको थियो । बहुमत प्रतिनिधिसभा सदस्यको हस्ताक्षरबाट महतोलाई संसदीय दलको नेता बनाइएको दावी गरिँदै आएको छ । जसलाई उपेन्द्र यादव पक्षले विरोध गर्दै आएको छ ।  जसपाको विवाद अहिले निर्वाचन आयोगमा पनि विचाराधीन छ । 

प्रतिक्रिया दिनुहोस