ओलीलाई प्रचण्डको प्रश्न - गोहीको आँशु चुहाएर तपाईँलाई कसैले पत्याउँछ ?

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १९ : ३४
ओलीलाई प्रचण्डको प्रश्न - गोहीको आँशु चुहाएर तपाईँलाई कसैले पत्याउँछ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् ।प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे ।

एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए । 

उनले प्रश्न गरे, ‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?’अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको भन्दै उनले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रस्ट पारे ।

प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए । ‘को भित्र लोकतान्त्रिक चरित्र छ, कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ,’ उनले भने ।

झन्डै दुई तिहाइ बहुमत भएको सरकारले दुई–दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको नेपालको इतिहासमै पहिलो पटक भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस