तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

विहीबार, २९ चैत्र २०७४, १८ : ५१
तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी जिल्ला गभर्नरसहित १२ भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारी रमाजान अलि मोहसिनीले जानकारी दिनुभएको छ ।

खब्जा ओमरी जिल्लामा रहेको सुरक्षा जाँच चौकीमा स्थानीय समयाअनुसार बिहीबार बिहान ३ बजे तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । सो आक्रमणमा परी खब्जा ओमरीका जिल्ला गभर्नरसहित अन्य ११ जना सुरक्षा अधिकारीको मृत्यु भएको मोहसिनीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

आतङ्ककारी आक्रमणपछि भएको दोहोरो गोली हानाहानमा करिब ४० आतङ्ककारी पक्राउ पुर्नका साथै अरु केही घाइते भएका सुरक्षास्रोतले जानकारी दिएको छ । यद्यपी तालिबान आतङ्ककारी समूहले यस आक्रमणको दाबी गर्दै खब्जा ओमरी जिल्लाको प्रहरी जाँच कार्यालय कब्जा लिएको समेत दाबी गरेका छन् ।
यसैबीच प्रान्तीय प्रहरी प्रवक्ता मोहमद जमानले तालिबान र सुरक्षा अधिकारीबीचको झडपको पुष्टि गर्दै तालिबानले कब्जा गरेको भनी गरेको दाबी भने अस्विकार गर्नुभएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस