सिरियामा मिसाइल हमला गर्ने ट्रम्पको धम्की

विहीबार, २९ चैत्र २०७४, ०८ : ४१
सिरियामा मिसाइल हमला गर्ने ट्रम्पको धम्की


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारको ट्वीटमा सिरियामा मिसाइल हमला गर्ने खुलेआम घोषणा गर्दै रुसलाई तयार रहन धम्की दिएका छन् ।

वास्तवमा ट्रम्पले रुसको भनाइमा प्रतिक्रियामा दिँदै सो ट्वीट गरेको बताइएको छ । गत शनिबार भएको रासायनिक हमला विरुद्ध यसअघि पनि ट्रम्प लगायत विभिन्न पश्चिमी मुलुकहरुले सिरियाली सेनामाथि संयुक्त हमला गर्नेमा सहमति जनाएका थिए ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा यस प्रकारको छलफल गरिएपछि रुसले पनि सिरियामा प्रहार गरिने जस्तोसुकै मिसाइललाई नष्ट पारिदिने बताएको थियो । रुसको यसै चेतावनीको जवाफमा ट्वीट गर्दै ट्रम्पले यस्तो लेखेका हुन्, ‘रुसले सिरियामा प्रहार गरिने सबै मिसाइल ढाल्ने संकल्प गरेको छ । त्यसोभए रुस अहिले तयार भएर बस्नुपर्छ किनकी हाम्रो तर्फबाट मिसाइल आउँदैछ । तिमीहरुले निर्दोष मानिसलाई ग्यासले मारेर मजा लिने जनावरसँग सहकार्य गर्नु हुने थिएन ।’

यति मात्र नभएर ट्रम्पले रुससँगको सम्बन्धमा समेत प्रश्न उठाउँदै अर्को ट्वीट गरेका छन्, ‘ अहिले रुससँगको हाम्रो सम्बन्ध हालसम्मकै खराब स्थितिमा पुगेको छ र शीत युद्ध पनि यसैबाट सुरु हुने देखिएको छ । रुसलाई अमेरिकाबाट आर्थिक सहयोग चाहिएको छ जसले हामीलाई झन सजिलो बनाइदिन्छ । त्यसकारण अब सबै देशहरुले हतियारको रेस अन्त्य गर्न एकसाथ भएर लाग्न आवश्यक छ ।’

अमेरिकालाई साथ दिँदै बेलायत र फ्रान्सले पनि सिरिया विरुद्ध सैन्य प्रहार गर्ने तयारी गरिरहेका छन् । यसका साथै ट्रम्पले सिरियाको मुद्दाकै कारणले साताभरिका सबै वैदेशिक भ्रमण समेत रद्द गराएकाले पनि अमेरिकाले ठूलो सैन्य कारबाही सुरु गर्न सक्ने आशंका गरिएको छ । -बीबीसी

प्रतिक्रिया दिनुहोस