धनुषामा नवविवाहिता युवतीको शंकास्पद मृत्यु, घरपरिवार मिलेर हत्या गरेको माइत पक्षको आरोप

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १२ : ००
धनुषामा नवविवाहिता युवतीको शंकास्पद मृत्यु, घरपरिवार मिलेर हत्या गरेको माइत पक्षको आरोप

सांकेतिक तस्वीर

जनकपुरधाम । धनुषामा एक युवतीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० वर्षीया रञ्जु महतोको शंकास्पद मृत्यु भएको हो ।

आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा नवविवाहिता अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

उनले आइतबार साँझ ७ बजे ओछयानमै मृत अवस्थामा अञ्जुको शव फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएको भन्दै मृत्यु  शंकास्पद रहेको समेत बताए । प्रहरी निरीक्षक सुनारले पोस्टमार्टम रिपोर्टपछि मृत्युबारे स्पष्ट हुने बताए । 

ओछ्यान घरको छनामा अञ्जुको सल बाँधिएको थियो। परिवारजनले अञ्जुले आत्महत्या गरेको बताएको छ। यता माइत पक्षले घरपरिवार मिलेर छोरी अञ्जुको हत्या गरेको दावी गरेको छ। घटनास्थलको प्रकृतिले अञ्जु आत्महत्या नगरेको र घरपरिवार नै मिलेर घाँटी थिचि हत्या गरेको उनकी बुबा महोत्तरीको गौशाला नगरपालिका १० भरतपुर बस्ने रामजत महतोको आरोप छ।

अञ्जुको विवाह गएको फागुन २० गते रामवृक्ष महतोसँग भएको थियो। विवाहपछि परिवारजनले यस्तो बुहारीले घर नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ।

घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइती पक्षले माग गरेका छन्। अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस