मेघौलीका बाढी प्रभावितलाई घर

बुधबार, २८ चैत्र २०७४, २० : २९
मेघौलीका बाढी प्रभावितलाई घर

चितवन । चितवन समाज जापानद्वारा निर्माण गरिएको घर मेघौलीका बाढी प्रभावितहरुलाई बुधबार हस्तान्तरण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २७ मा औपचारिक कार्यक्रमबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल र बाढी पीडित पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाका प्रमुख डाक्टर सुमनकुमार कर्णले घर हस्तान्तरण गरेका हुन् । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले आयोजना गरेको कार्यक्रममा भरतपुर २७ मा निर्माण गरिएको तीन वटा र २८ मा निर्माण गरिएको सात वटा घर बाढी प्रभावितलाई हस्तान्तरण गरिएको हो ।
बाढी प्रभावितको लागि घर निर्माण गर्न प्रतिघर ४० हजार रुपैयाँ बराबरको निर्माण सामग्री चितवन समाज जापानले सहयोग गरेको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताउनु भयो । घरको भित्ता बार्नका लागि पैसा नभएका केही परिवारलाई थप आर्थिक सहयोग उपलब्ध गराइएको अधिकारीको भनाइ छ ।


बाढी प्रभावित परिवारका लागि बाढी पीडित पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाबाट आएको रकम चाँडै उनीहरुलाई वितरण गरिने महानगर प्रमुख रेनु दाहालले बताउनु भयो । आयोजनाबाट प्रतिपरिवार २५ हजार रुपैयाँ आएको छ । घर हस्तान्तरण कार्यक्रममा वडा नम्बर २७ का अध्यक्ष गोविन्द तामाङ, व्यवसायी अरुण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्यालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस