राष्ट्रिय युवा संघ नेपालको सडक प्रदर्शन स्थगित

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १३ : ४९
राष्ट्रिय युवा संघ नेपालको सडक प्रदर्शन स्थगित

काठमाडौं । एमाले एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न भनेपछि एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको शनिबारको सडक प्रदर्शन अचानक स्थगित भएको छ ।

अपरान्ह ३ बजे युवासंघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएकोमा इन्चार्ज महेश बस्नेतको निर्देशनपछि स्थगित भएको उपमहासचिव रामजी सापकोटाले जानकारी दिए ।

एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिवारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ ।

कार्यदलमा एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका कुनै पनि प्रदर्शनहरू नगर्ने अनौपचारिक सहमति भएको थियो । युवासंघको मार्चपास अब आइतबार हुने बस्नेतले बताए ।

माधव पक्षधर विद्यार्थीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने लगायत सडक प्रदर्शन गरिरहेकाले ती गतिविधिसमेत रोक्न सुरेन्द्र पाण्डेले माधव नेपाललाई आग्रह गरेका थिए । तर, नेपाल पक्षले भने कार्यदलको आग्रह अश्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस