काठमाडों । नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने यूवा संघले जनाएको छ ।
वर्तमान सरकार र नेकपा एमालेको बिरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको बिरुद्धमा सडक प्रदर्शनका लागि भन्दै उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका छन् ।
सरकारले निषेधित क्षेत्र तोकेको बानेश्वर चोकबाट सरकारको समर्थन गर्दै विपक्षी गठबन्धनबिरुद्ध युवासंघले सडक प्रदर्शन हुन लागेको हो । काठमाडौंको सिडियो भन्छन्–‘निषेधाज्ञामा सडक प्रदर्शन गर्न पाइँदैन’
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर लगाएको निषेधाज्ञा अझै जारी छ । पसल, व्यवसाय तथा यातायात क्षेत्र आंशिक रुपमा खोल्न दिएपनि ठूलो मात्रामा भेला हुने क्षेत्रमा रोक लगाएको छ । सभा, सम्मेलन, जुलुस, बिहे भोज जस्ता कार्यक्रम गर्न रोक लगाइरहेका बेला सत्तापक्षले नै निषेधित क्षेत्रबाट सडक प्रदर्शन गर्न लागेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा अहिले पनि कायम रहेकोले जुलुस तथा सभा गर्न नपाइने बताए । उनले भने–‘जुलुस निकाल्न पाइँदैन । हामीले जुलुस निकाल्न पाइँदैन भनेर प्रहरीलाई भनेका छौँ । जुलुस निस्कियो भने पुलिसले हेर्छ ।’
सरकारले कोरोना रोकथाम गर्न भीडभाड हुने सभा, जुलुस निकाल्न रोक लगाएपनि हरेक दिन जसो विभिन्न विषयमा माइतीघर मण्डला लगायतका क्षेत्रमा सडक प्रदर्शन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असार २०७८, १२ : ३३
लेखकबाट थप