अवैधानिक लेवी नउठाउन एमाले चितवनको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १२ : ०३
अवैधानिक लेवी नउठाउन एमाले चितवनको निर्देशन

चितवन । पार्टीको नाममा विभिन्न स्थान र व्यक्तिबाट अवैधानिक रुपमा लेवी उठाएको भन्दै नेकपा एमाले चितवनले ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टी जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्काले  विज्ञप्ति जारी गर्दै पार्टीको विधि र विधानविपरित लेवी उठाएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भई नेकपा एमाले पुनर्गठन भएपछि केन्द्रदेखि स्थानीय तहसम्म साविककै कमिटी नै नेकपा एमाले रहेको र आधिकारिक पार्टीद्वारा गरिने काम मात्रै वास्तविक नेकपा एमालेको कामकारबाही भएको विज्ञप्तिमा उल्लेख छ ।

नवौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीनै आधिकारिक कमिटी रहेको भन्दै आम कार्यकर्तालाई लेवी नबुझाउन समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ पार्टी केन्द्रीय तहमा एकताको लागि वार्ता संवाद चलिरहेको बेला एकतालाईनै बाधा पुरयाउने गरी लेवी उठाउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण मातहत कमिटीमा निर्देशन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस