अविरल वर्षाका कारण चितवनको माडीका बस्ती डुबानमा, सजक रहन जिल्ला प्रशासन कार्यालयको आग्रह

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १२ : ०६
अविरल वर्षाका कारण चितवनको माडीका बस्ती डुबानमा, सजक रहन जिल्ला प्रशासन कार्यालयको आग्रह

चितवन । चितवनको माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुबान हुन थालेको छ । माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको हो । 

माडी नगरपालिका ७ को परुई खोलामा बाढी आउँदा ५५ घर भएको चेपाङ बस्ती  डुबानमा परेको छ ।  मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको छ । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको कुसुम खोलाबाट विस्थापित भएर आएका चेपाङहरुलाई यो बस्तीमा राखिएको थियो।

रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेका छन् । खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत बन्द भएको छ ।

माडीका वनकट्टा, कल्याणपुर, छरछरे गोविन्द बस्ती क्षेत्रमा लगातार पानी परेका कारण बाढीको खतरा बढेको चितवन जिल्ला प्रशासन कार्यालयका अधिकृत खेमराज पौडेलले बताए । जिल्लाका सबै क्षेत्रमा जोखिम बढेको भन्दै उनले स्थानीयलाई सजग रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस