नेकपा एमाले कार्यदलको बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, ११ : ४९
नेकपा एमाले कार्यदलको बैठक सुरु

काठमाडौ । नेकपा एमाले कार्यदलको बैठक ढिला गरी सुरु भएको छ । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको हो । यसअघि बिहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने भनिएको थियो ।

कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको हो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए । सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको हो ।

बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताए । सहमति जुटाउने प्रयासको स्प्रीट नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।

‘हल्लाको अर्थ छैन, आज सहमति हुन सक्छ । हिजो नेताबीचको कुरा नमिलेको भनेर हल्ला फिँजाइए पनि त्यसको कुनै अर्थ छैन । हाम्रो सहमति जुटाउने प्रयासको स्प्रीड घटेको छैन,’ उनले भने ।

मेरियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए । उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस