माधव नेपालले गरे ओलीसँग भेट्न अस्वीकार

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १५ : ५३
माधव नेपालले गरे ओलीसँग भेट्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिए । 
 
राष्ट्रियसभाको बैठक पछि संघीय संसद भवन नयाँ बानेश्वरमा नेता नेपालसंँका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफुले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताए । 

उनले भने, ‘माधव कमरेड कहाँ गएका थियौँ म, सुवासजी र शंकर जी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्यौं । हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन्, तपाईहरु एक आपसमा बस्नुहोस् भन्यौं । उहाँले खासगरीकन प्रधानमन्त्रीसंग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुची राख्नुभएन ।  ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौँ ।’

प्रतिक्रिया दिनुहोस