एजेन्सी । भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भए का छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको जनाइएको छ । घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ । “सामान बोक्ने एउटा ट्रकले ४० जना मजदुरलाई बोकेर ल्याइरहेको थियो, त्यो ट्रक आज बिहान खान्डाला भन्ने ठाउँमा दुर्घटनामा परेको छ”, पुनेका एकजना प्रहरी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।
उनले थप स्पष्ट पार्दै भने, “ट्रक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन् ।” अधिकारीहरुका अनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए । घाइतेहरु सबैलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गरिएको छ । उपचार भइरहेका घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुको भनाइ छ ।
घटनास्थलमा पुगेर प्रहरीले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने जनाएको छ । प्रारम्भिक विवरणहरुका अनुसार चालकले नियन्त्रण गुमाएकाले ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
यसअघि गत सोमबार हिमाञ्चल प्रदेशमा भएको विद्यालय बस दुर्घटनामा परी ३० जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । मृत्यु हुने र घाइते हुनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिका रहेका बताइएको छ । काँगडा जिल्लाको नुरपुरस्थित वजिर रामसिंह पठनीय मेमोरियल स्कूलका झण्डै ४० जना विद्यार्थी लिएर गइरहेको बस दुर्घटना भएको हो ।
सडकबाट झण्डै २०० फिट तल गहिरो खोँचमा खसेको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २७ जना विद्यार्थी, दुईजना शिक्षक र एकजना बस चालक रहेका छन् । भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकमध्येमा पर्छ । चालकको लापरवाही तथा सडक र सवारी साधन राम्रोसँग मर्मत नगरिँदा अधिकांश दुर्घटना हुने गरेको अधिकारीहरुको भनाइ छ ।(रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस