मोडल एलिसा राई भन्छिन्, जिम गएर एप्स बनाएको मलाई राम्रो लाग्दैन ।

सोमबार, २६ चैत्र २०७४, १३ : ४८
मोडल एलिसा राई भन्छिन्,   जिम गएर एप्स बनाएको मलाई राम्रो लाग्दैन ।

आजसम्म म कोही पनि व्यक्तिको बाहिरी रूपले आकर्षित भएकी छैन । विवाहबारे केही योजना बनाएकी छैन । यति वर्षमा विवाह गर्छु भनेर पनि सोचेको छैन । विवाह गर्न यस्तो केटा हुनुपर्छ भन्ने कल्पना गरिसकेकी छैन । त्यसमाथि म विवाह गर्नैपर्छ भन्ने मान्यता पनि राख्दिनँ । आफूलाई मन मिल्ने साथी पाएन भने नहुन पनि सक्छ । तर, सामान्य चाहनाचाहिँ मान्छे राम्रै होस् भन्ने छ । मलाई बाह्य रूपले खासै आकर्षण गर्दैन । व्यक्तिको व्यवहार महत्वपूर्ण हो ।

सुन्दरताले आकर्षित हुने भनेको क्षणिक हो । म कोही व्यक्तिको सुन्दरताले आकर्षित भए पनि प्रेममा पर्दिनँ । यदि व्यवहार पनि सुन्दर भयो भने हो नत्र बाह्य रूपले मात्रै के गर्नु । राम्रो लागेको व्यक्ति यसो हेर्नलाई मात्र हो । त्यस्तो आकर्षित नै भइहाल्ने पनि हुँदैन होलाजस्तो लाग्छ । जीवन चलाउन सबैभन्दा पहिलो कुरा त व्यावहारिक हुनुपर्छ । व्यावहारिक भएन भने सम्बन्ध पनि राम्रो हुँदैन । त्यस्तै फ्रेन्ड्ली पनि हुनुपर्छ । जोकोहीसँग राम्रो बोल्ने, घुलमिल हुनेखालको व्यक्ति सहज हुन्छ । धेरै फतर–फतर बोल्ने पनि मलाई त्यति मन पर्दैन । मेरो साथी, आफन्तसँग राम्रो बोलिदिने, व्यवहार राम्रो गर्दिने होस् ।
सामान्यतया केटा होस् वा केटी जोकोहीको चाहना आफ्नो जीवनसाथीले आफूलाई माया गरोस्, ख्याल गरोस्, बुझोस् भन्ने नै हुन्छ । म पनि त्यस्तै चाहन्छु । आवश्यक परेका वेला सल्लाह दिओस् । आफ्ना कुरा निर्धक्क सेयर गर्न सकियोस् । एक–अर्काको सुख, दुःखमा साथ दिन सकियोस् । मेरो राम्रो पक्षको साथ र नराम्रा कुरा खण्डन गर्न सक्ने हुनुपर्छ । मोटिभेट गरोस् । कुनै पनि व्यक्ति आफ्नो काम, कर्तव्यप्रति जिम्मेवार हुनुपर्छ भन्ने लाग्छ । कतिपय व्यक्ति अधिकार मात्रै खोज्ने, तर आफ्नो काम र कर्तव्यप्रति कत्ति पनि जिम्मेवार हुँदैनन् । मैले कति देखेकी छु त्यस्ता मानिस । मेरो जीवनसाथीचाहिँ त्यस्तो गैरजिम्मेवार नहोस् भन्ने लाग्छ ।
बाह्य रूपमा सबै राम्रा नै हुन्छन् । हाम्रो हेराइ र रोजाइ मात्र फरक हो । जो पनि आफ्नो हेराइअनुसारको खोज्दा बाँकी नराम्रो लाग्ने न हो । त्यस्तै मलाईचाहिँ बाह्य रूपमा सिम्पल पहिरन गर्ने राम्रो लाग्छ । चाहिनेजति फेसन सेन्स भएको होस् । हेर्दा स्वस्थ देखियोस् । अर्थात् शारीरिक रूपमा फिट देखियोस् । जिम गएर एप्स बनाएको मलाई राम्रो लाग्दैन । ठिक्कको उचाइ भएको, मसँग सुहाउँदो होस् ।
मलाई गोरो वर्ण भएका केटा त्यति आकर्षक लाग्दैन । मैले विवाह गरेँ भने मेरो जीवनसाथी मभन्दा गोरो वर्णको नहुने सम्भावना बढी छ । मलाई लामो कपाल पालेको मन पर्दैन । छोटो ठिक्कको होस् । कालो र छोटो कपाल भएको पुरुष स्मार्ट लाग्छ ।
मलाई चुरोट खाएको मन पर्दैन । यदि मैले कोहीलाई मन पराएँ भने पनि चुरोट पिउने थाह पाएँ भने सायद सम्बन्ध अघि बढ्दैन । म रक्सी पिउँदिनँ । त्यसैले पिउनेसँग कुरा मिल्दैन होला । हल्का कहिलेकाहीँ विशेष भोजमा मात्र पिउने हो भने सम्झौता गर्न सकिन्छ । तर, मातिन्जेल पिउने, दैनिक पिउनेसँग भने जीवन चल्दैन ।

प्रतिक्रिया दिनुहोस