२० वर्षपछि इराकविरुद्ध मैदानमा उत्रिँदै नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १९ : ०५
२० वर्षपछि इराकविरुद्ध मैदानमा उत्रिँदै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीले २० वर्षपछि भोलि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नयाँ स्वरूपको नेपाली टोलीसहित कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसरा पुगिसकेका छन् ।

विश्वकपका छनोटका बाँकी खेलको तयारी स्वरूप भोलि नेपालले फिफा बरियतामा आफूभन्दा १ सय ३ स्थानमाथि रहको इराकसँग खेल्न लागेको हो । चार खेलको तालिका बोकेर भ्रमणमा निस्किएको नेपाली टोलीले इराकविरुद्धको मैत्रीपूर्ण खेलपछि विश्वकप तथा एसियन कप छनोटका बाँकी तीन खेल कुवेतमा खेल्ने छ ।

समूह ‘बी’ मा रहेको नेपालले यसअघिका पाँच खेलबाट ३ अंक मात्रै जोडेको छ । अबका खेलको नतिजामा धेरै आशावादी हुन नसकिए पनि प्रशिक्षक अब्दुल्लाहले गरेको वाचा र खेलाडी छनोटमा गरेको बोल्ड निर्णयले नेपाली फुटबलमा केही न केही फरक पर्ने अपेक्षा नेपाली फुटबलप्रेमीले गरेका छन् ।

यसअघि नेपालले इराकसँग तीन खेल खेलेको छ र तीनैवटामा हार व्यवहारेको छ । नेपाल र इराकको पछिल्लो भिडन्त विश्वकप छनोट २००१ मा भएको थियो । पहिलो खेल ९-१ को नतिजामा नेपाल हारेको थियो । इराकको राजधानी बगदादस्थित अल साहब रंगशालामा भएको खेलमा नेपालका लागि निराजन रायमाझीले गोल गरेका थिए ।

सोही वर्ष कजाखस्तानमा भएको खेलमा नेपालले ४-२ को साँघुरो हार बेहोरेको थियो । उक्त खेलमा नेपालका लागि निराजनसँगै हरि खड्काले पनि १-१ गोल गरेका थिए । त्यसभन्दा अगाडि नेपालले इराकसँग १९८२ मा खेलेको थियो । उक्त खेलमा पनि नेपाली टोली ३-० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस