द्धन्दकालिन समयमा पत्रकारहरुको हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन माग

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १६ : ५६
द्धन्दकालिन समयमा पत्रकारहरुको हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । नेपाल पत्रकार महासंघले द्धन्दकालिन समयमा पत्रकारहरुको हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । दिवंगत पत्रकार कृष्णसेन इच्छुकको १९औं स्मृति दिवसका अवसरमा महासंघ परिसरमा विहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकार हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

उनले नेपालमा द्वन्द्वकाल देखि हालसम्म राज्यपक्ष र गैरराज्य पक्षबाट तीनदर्जन भन्दा धेरै पत्रकारहरु मारिएको भन्दै ती घटनाका दोषीहरु अहिले पनि खुलेआम हिडडुल गरेर कानुनी राजलाई चुनौति दिएको बताए । उनले द्धन्दकालिन समयमा र कोभिड १९ महामारीमा ज्यान गुमाएका पत्रकारका परिवारको उचित व्यवस्थापन गर्न समेत माग गरे ।

उनले भने, “विगतमा शसस्त्र द्धन्द्धको क्रममा ३ दर्जन बढी पत्रकारहरुको राज्य र गैरराज्यपक्षबाट हत्या भएको छ । ती पत्रकारहरुको परिवारको अहिले पनि उचित व्यवस्थापन हुन सकेको छैन । हत्यामा संलग्नहरुलाई कानुनी कारवाहीमा ल्याउन सकिएको छैन । उनीहरु अहिले पनि निर्वाधरुपमा  हिडिरहेका छन् । कानुनी राजलाई चुनौति दिएका छन् । महासंघको तर्फबाट कृष्णसेन इच्छुक लगायतका पत्रकारहरुको हत्यामा संलग्नहरुलाई कानुनी दायरमा ल्याउन म जोडदार माग गर्न चाहन्छु । द्धन्दमा मारिएका पत्रकारहरुको परिवारजनहरु पीडामा रहेको र ती परिवारको उचित व्यवस्थापनका लागि माग गर्न चाहन्छु । ”

महासंघका महासचिव रोशन पुरीले कृष्णसेन इच्छुक लगायत पत्रकारहरुको हत्यामा संलग्नहरुलाई कानुनी दायरमा ल्याउन माग गरे । उनले महामारीमा फ्रन्टलाईनमा बसेर भूमिका निर्वाह गर्ने क्रममा १६ जना पत्रकारले ज्यान गुमाउनुपरेको भन्दै उनीहरुका परिवारको उचित व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने बताइन् ।

महासंघका पदाधिकारी लगायत पत्रकारहरुले महासंघ परिसरमा रहेको पत्रकार शहिद स्तम्भमा कोणसभा गरि पत्रकार सेनको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै सम्पूर्ण दिवंगत पत्रकारको चिर शान्तिको कामना गरेका थिए । महासंघका अनुसार, द्वन्द्वकाल देखि हालसम्म ३८ जना पत्रकारको हत्या गरिएको छ भने ४ जना पत्रकारको अवस्था अज्ञात छ । पछिल्लो कोभिड महामारीमा परी अहिले सम्म १६ जना पत्रकारले ज्यान गुमाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस