प्रतिनिधीसभा विघटन लगत्तै किन ल्याईयो नागरिकता अध्यादेश ?

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, ०८ : ०१
प्रतिनिधीसभा विघटन लगत्तै किन ल्याईयो नागरिकता अध्यादेश ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकता प्राप्त बाबुआमाका र बाबुको पहिचान नभएका सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता दिने प्रावधान राखेर अध्यादेश जारी गरेकी छन् ।विघटित प्रतिनिधिसभामा दलहरूको विवादका कारण लामो समयदेखि नागरिकता ऐनसम्बन्धी संशोधन विधेयक विचाराधीन थियो ।

त्यति बेला विधेयक पारित गर्न ध्यान नदिइएकामा प्रतिनिधिसभा विघटन गरेको दुई दिन नबित्दै नागरिकतासम्बन्धी मुद्दा सम्बोधन गर्न भन्दै अध्यादेश जारी गरिएको हो । मन्त्रिपरिषद्ले गत बिहीबार नै ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यही दिन मन्त्रिपरिषद्बाट निर्णय गरेर सिफारिस गरिएका कोभिड संकट व्यवस्थापन र शपथसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट तत्कालै जारी गरिएका थिए ।

प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छलेर ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश भने आइतबार मात्रै प्रमाणीकरण गरिएको हो । नागरिकतासम्बन्धी अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता प्रमाणपत्र भएका बाबुआमाका र बाबुको ठेगाना नखुलेका सन्तानले वंशजका आधारमा सरल बाटोबाट नागरिकता पाउनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार वंशज बाबुका नामबाट सन्तानले तीन पुस्ता खुलाएर नागरिकताको प्रमाणपत्र पाउने गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानले भने यसरी नागरिकता पाउँदैन थिए । संविधान जारी भएपछि नागरिकतासम्बन्धी अद्यावधिक कानुन बन्न सकेको छैन ।

दाहालका अनुसार कानुन नबनेका कारण आमाका नामबाट पनि सन्तानलाई वंशजका आधारमा नागरिकता लिन सहज थिएन । जिल्ला प्रशासन कार्यालयले कानुन नबनेको कारण देखाएर आमाका नामबाट नागरिकता लिन आउनेलाई फर्काइदिने गरेको छ । अदालतबाट आदेश लिएर आउनेले भने वंशज नागरिकता वाहक नेपाली आमाका नामबाट वंशजकै नागरिकता लिने गरेका छन् ।

अध्यादेशमा के छ  ?

अध्यादेशमा २०७२ असोज ३ अघि जन्मसिद्ध नेपाली नागरिकता लिएका बाबु र आमाबाट जन्मेका सन्तानलाई १६ वर्ष पुगेपछि वंशजका आधारमा नागरिकता दिइने उल्लेख छ । यस्तो नागरिकता दिँदा आमा र बाबु दुवैको नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्नेछ । त्यस्तै नेपाली नागरिक आमाबाट जन्म भई नेपालमै बसोबास गरेका र बाबुको पहिचान हुन नसकेका सन्तानलाई पनि वंशजका आधारमा नागरिकता दिइनेछ ।

त्यसका लागि आमाले श्रीमान् र नागरिकता पाउने व्यक्तिले बाबुको ठेगान नभएको स्वघोषणा गर्नुपर्ने छ । त्यस्तो नागरिकता लिएका व्यक्तिका बाबु विदेशी रहेको ठहरे र स्वघोषणा गरी विदेशी नागरिकता लिन नचाहे त्यस व्यक्तिलाई अंगीकृत नागरिकता दिइने व्यवस्था अध्यादेशमा छ ।

स्वघोषणा गलत ठहरे आमा र नागरिकता लिने व्यक्ति दुवैलाई ६ महिनादेखि १ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान पनि समेटिएको छ । बाबु विदेशी रहेको पुष्टि भएर पनि वंशजकै नागरिकता लिएको पाइए आमा र नागरिकता लिने सन्तानलाई १ वर्षदेखि ३ वर्षसम्म कैद वा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस