सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको छ  : मुख्यमन्त्री  राई

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १७ : २२
सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको छ  : मुख्यमन्त्री  राई

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए । 

आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले  नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए । 

उनले सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए । यो संकटका बेला सरकारलाई सबैको साथ चाँहिने भन्दै सामाजिक संघसंस्थाहरुले आफुले सकेको सहयोग गर्नु पर्नेमा जोड दिए । 

उनले करुणा फाउण्डेशनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे । करुणा फाउण्डेशनले संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस