काठमाडौं । वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १ सय ५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले अहिलेसम्म १५० भन्दा बढीले आरोहण गरेको खबर आएको बताए । “मौसम राम्रो भएकाले उल्लेख्य सङ्ख्याका आरोही चुचुरातर्फ गएका थिए, १५० भन्दा बढीले आरोहण गरिसकेको खबर आएको छ, अझै केही आरोहण जारी छ”, उनले भने । मौसमले साथ दिए आगामी २८ र २९ तारिख सर्वाधिक आरोहण हुने जनाइएको छ ।
अहिले विश्व कीर्तिमानी कामीरिता शेर्पा २६औँ पटकको आरोहणका लागि आधार शिविरमा छन् । अझै पनि बाक्लो सङ्ख्यामा आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका सम्पर्क अधिकृत श्रेष्ठले बताए ।
यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित बनेको थियो । वसन्तयामको जारी आरोहणका क्रममा पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम बिग्रिएपछि सगरमाथासहितका हिमाल आरोहण प्रभावित बनेको थियो ।
वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो । कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सिङ) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो । पर्यटन विभागले सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति दिएको छ । यो सङ्ख्या सन् २०१९ को वसन्तयामको भन्दा बढी हो । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०९ जेठ २०७८, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति