नेपाल पक्षका केन्द्रीय सदस्यको आलोचना : बादलसहितको वार्तामा बसेपछि जेठ २ को बटमलाइन कमजोर भयो

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, १२ : ४७
नेपाल पक्षका केन्द्रीय सदस्यको आलोचना : बादलसहितको वार्तामा बसेपछि जेठ २ को बटमलाइन कमजोर भयो

काठमाडौं । माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ । शुक्रवारदेखि शुरु भएको माधव पक्षका केन्द्रीय सदस्यहरुको बैठक शनिवार पनि जारी रहेको छ ।

बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बादलसहितको वार्तामा बसेपछि जेठ २ को बटमलाइन कमजोर भएको बताएका छन् । शुक्रवार संस्थापन पक्ष र माधव नेपाल पक्षबीच सिंहदरवारमा भएको वार्तामा पूर्व माओवादीतर्फका नेता रामवहादुर थापा बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा आलोचना भएको हो ।

केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास गरिरहेका बेला आफूहरुले स्वीकार गरिनसकेका बादल एमाले नेताको हैसियतमा वार्तामा बस्दा नेताहरुले किन स्वीकार गरेको ? भन्ने प्रश्न राखेको एक सदस्यले बताए ।

माधव नेपालसहितका नेताहरुले भने बादल वार्तामा बस्ने आफूहरुलाई पूर्व जानकारी नभएको र वार्तामा देखेपछि एमालेमा स्वागत छ भनेको जानकारी दिएका छन् । उनीहरुले जेठ २ को बटमलाइनबाट पछि नहटेको सदस्यहरुलाई बताएका छन् ।

अधिकांश सदस्यले संस्थापन पक्षको इमान्दारितामाथि प्रश्न उठाउँदै सहमति कार्यन्वयन नहुने आशंका व्यक्त गरेका छन् । उनीहरुले उधारोमा सहमति गर्नुको अर्थ नहुने र कार्यदलको कुरा झुक्याउने खेलमात्र हुनसक्न आशंका गरेका छन् ।

राष्ट्रियसभाको उपनिर्वाचन र संसद विघटनको विन्दूसम्म अल्मल्याएर केपी ओलीले आफ्ना माग सम्बोधन नगर्ने चिन्ता उनीहरुबाट व्यक्त भएको छ । मूल नेतृत्व भने सहमति हुन्छ भन्नेमा विश्वस्त देखिएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस