प्रचण्ड योजना

पाँच वर्षभित्र चितवनका सबै सडक कालोपत्रे हुनेछन् : प्रचण्ड

शुक्रबार, १५ मंसिर २०७४, ०९ : ३७
पाँच वर्षभित्र चितवनका सबै सडक कालोपत्रे हुनेछन् : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच बर्षभित्र चितवनका सबै सडक कालोपत्रे गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरमा आयोजित चुनावी कोणसभामा बोल्दै प्रचण्डले भने, ‘पाँच बर्षभित्र चितवनको एउटा पनि बाटो ग्राभेल नराख्ने संकल्प गरेको छु । त्यसो गर्न सकिन्छ ।’ 
गोलाघाटको पुल बनेपछि नवलपुर समेत जोडेर एकीकृत शहरको रुपमा चितवनलाई विकास गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘राज्यले कसैलाई काखा–पाखा गर्नु हुँदैन भनेर धर्म निरपेक्षता घोषणा गरिएको छ ।’ शरणपुरमा रहेको मुस्लिम बस्तीमा बोल्दै प्रचण्डले विगतमा उत्पीडनमा परेका वर्ग र समुदायको उत्थानका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताए ।
विगत ७० बर्षदेखि स्थायी सरकारकार बन्न नसकेकोले इतिहास बदल्ने संकल्प गरेर वाम गठन्धन निर्माण गरिएको बताउँदै प्रचण्डले भने, ‘भ्रष्ट, दलाल र कमिसनखोरहरुको चिप्ला कुरा नसुनी जनताको पक्षमा लडेकाहरुलाई त्यो इतिहास बदल्ने अवसर दिनुहुनेछ भन्ने मलाई विश्वास छ ।’ 


शुक्रबार बिहानैदेखि चुनावी अभियानमा लागेका प्रचण्डले केही दिनयता प्रचार प्रसारलाई तीब्र पारेका छन् । भरतपुर महानगरपालिका–१५ स्थित फूलबारीमा आयोजित सभामा बोल्दै प्रचण्डले कम्युनिष्ट नेतृत्वको सरकारले केही रेकर्ड बनाएको दाबी गरे । ‘मनमोहन अधिकारीको पालाको वृद्धभत्ताको कुरा, केपी ओली नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा लिएको अडान र मेरो नेतृत्वमा लोडसेडिङ अन्त्य गर्दै आर्थिक वृद्धिदर बढाउँदै नयाँ रेकर्ड कायम गर्न हामी सफल भयौं ।’

मंसिर २१ गतेको निर्वाचन परिणामपछि पाँच बर्षका लागि वामपन्थी सरकार बन्ने दाबी गर्दै उनले भने, ‘त्यसपछि कम्युनिष्टले अरु पचास बर्ष शासन गर्ने अधिकार प्राप्त हुनेछ ।’ 
‘विपक्षीहरुले चुनावपछि कम्युनिष्ट मिल्दैनन् भनेर भ्रम फैलाउन खोजेका छन्, त्यसमा बिल्कुल आशंका नराख्नुहोस्’ प्रचण्डले भने, ‘वामपन्थी मिल्दैनन् कि भनेर आशंका पाल्नेहरु रुढीवादी सावित हुनेछन् ।’ 


देउवा सरकार ढाल्न सक्थेँ
राजनितीक बेईमानी गर्न नचाहेर आफले कांग्रेस सभापति शेरबहादुर देउवालाई अप्ठेरो नपारेको उल्लेख गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफूले चाहेको भए अहिले कम्युनिष्ट सरकारले नै चुनाव गराउने वातावरण बन्ने अवस्था रहेको बताए । 
‘त्यतिबेला संसद थियो, निहुँ खोजेको भए देउवाको सरकार ढाल्न सक्थेँ’ उनले भने, ‘कांग्रेस सभापति र मेरो बीचमा भएको समझदारीको सम्मान गर्दै उहाँलाई (शेरबहादुर देउवालाई)निर्वाचन गराउन दिइएको हो ।’


यसैबीच, भरतपुर–२१ स्थित पार्वतीपुरकी १०३ वर्षीया वृद्धा बिवा ढकालले माओवादी अध्यक्ष प्रचण्डलाई विजयको लागि आशीर्वाद दिएकी छिन् । ‘सकृय ज्येष्ठ नागरिक समाजमा आवद्ध वृद्धवृद्धालाई भेट्न पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई ढकालले आशीर्वाद दिँदै वृद्धहरुको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएकी थिइन् । 
प्रचण्ड बिहीबार आफूले एसएलसी पास गरेको नारायणी विद्यामन्दिर उमाविमा समेत पुगेका थिए । नारायणी विद्यामन्दिर उमाविका शिक्षक र विद्यार्थीले उनलाई भब्य स्वागत गरेका थिए ।  
 

प्रतिक्रिया दिनुहोस